लिम्बुवानको माटो र जनताको दुखाईलाई आत्मसात गर्न मार्चपास गरिएको उद्घोष

 

मोरङ (लिम्बुवान), २२ मङ्सिर २०६९ । मार्चपास गर्दा दुखेको शरीरभन्दा धेरै यो देशको माटो दुखेको भन्दै लिम्बुवानको माटो र जनताहरूको दुखाईसँग आफ्नो दुखाईलाई आत्मसात गर्न दुईदिन पसिना बगएर पैदल मार्चपास गरी एकात्मकवादीहरूलाई चुनौती दिएको उद्घोष गर्दै लिम्बुवानको उर्लाबारीदेखि इटहरीसम्मको पाँचौ ऐतिहासिक लिम्बुवान मार्च पास सम्पन्न भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्ब्द्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति मोरङ र संघीय धिमाल स्वायत्त परिषदले मङ्सिर २१ गते २२ गते सम्पन्न उक्त मार्चपासको आयोजना गरेको थियो ।

मार्चपासको पहिलो दिन कार्यक्रमको उद्घाटन गर्दै लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले काठमाडौंको सिंहदरवारमा बसेर षडयन्त्रमात्र बुनिरहने एकात्मकवादी एमाले–कांग्रेस र माओवादीका प्रचण्ड आफै पनि कहिले आधा संघीयता र आधा एकात्मक भएर अलमलमा बसिरहेको र यिनीहरूकै षडयन्त्रले गर्दा जनताको संविधान सभाको अनायासै हत्या भएको बताउनु भयो । वहाँले यी हत्यारा एकात्मक पार्टीहरूप्रति सारा लिम्बुवानी जनता र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले घोर विरोध र भत्र्सना गरेको समेत उद्घोष गर्नुभयो ।

5th March Pass of Limbuwan from Urlabari to Itahari.

नेपालमै सबैभन्दा बढी आसाको केन्द्रको रुपमा अगाडि बढिरहेको लिम्बुवान र खम्बुवान, तामाङसालीङ, थरुहट, मगरात, नेवाः, मैथिल, खसानसम्मको आन्दोलनलाई तुहाउनको लागि एकात्मकवादी पार्टीहरूले संविधान सभाको हत्या गरेको अध्यक्ष मिराकले बताउनु भयो । वहाँले सोही मार्चपासबाट सिंहदरवारमा बस्ने एकात्मकवादीहरूलाई चुनौती दिँदै लिम्बुवान आन्दोलनलाई जति दबाउन खोजियो झनझन शक्तिशाली भएर अघि बढ्नेसमेत दावी गर्नुभयो ।

यो मार्चपासको पहिलो उद्देश्य– संविधान सभाको हत्याप्रति लिम्बुवानको असहमति रहेको र लिम्बुवानलाई सिध्याउन खोजेकोमा सिद्धिने नभई एक हजार वर्षसम्म पनि लड्ने नयाँ जोश र जाँगरका साथ फेरि पनि लिम्बुवान सडकमा उत्रिएको दुनियाँलाई देखाई सन्देश दिन उक्त मार्चपासको आह्वान गरिएको अध्यक्ष मिराकले बताउनु भयो ।

त्यसैगरी, संविधान सभाको हत्या गरेर फेरि पनि तिनै चुनावको लागि सुवास नेम्बाङहरू इलामको गाउँगाउँ जाने दुस्प्रयास गरिरहेको भन्दै पहिले लिम्बुवान कायम गरेर मात्र अरु कुरा गर्नुपर्ने बताउँदै संविधान सभाको हत्या गर्ने बेलामा सबै मिलेर हत्या गरेको र त्यसको बारेमा प्रष्ट कुरा नदिईकन फेरि पनि अर्को चुनावको तयारी गर्न खोजेको भन्दै फेरि पनि भोट माग्ने दुस्साहस भइरहेकोमा अध्यक्ष मिराकले घोर आपत्ति जनाउनु भयो । वहाँले सुवास नेम्बाङलाई लिम्बुवानी जनताले गाउँ गाउँबाट लखेटेजस्तै धेरै एकात्मकवादीहरूलाई लखेट्दै प्रतिरोध गर्ने घोषणासमेत गर्नुभयो ।

यसरी नै जान्दा जान्दै पनि एकात्मकवादीहरूले लिम्बुवान कायम भएमा देश टुक्रने र जातीय युद्ध हुन्छ भन्ने भ्रम छरेकोप्रति आपत्ति जनाउँदै लिम्बुवानको आन्दोलन भनेको कुनै देश टुक्राउने पृथकतावादी आन्दोलन नभएर पाँच हजार वर्षसम्म पनि लिम्बुवान नेपाल अन्तर्गत नै रहने बताउँदै यो राष्ट्रवादी लडाइँ भएको पनि अध्यक्षले मिराकले घोषणा गर्नुभयो ।

वहाँले लिम्बुवान भनेको सबैभन्दा सभ्य आन्दोलन र नयाँ संघीय सह–अस्तित्ववादी विचारले लैस भई शान्तिपूर्ण तरिकाले समाज र नेपालकै अग्रगामी परिवर्तन गर्न चाहेको भन्ने कुरा देखाउनु पनि सो शान्तिपूर्ण मार्चपासको आयोजना गरेको बताउनु भयो ।

 

त्यसैगरी, अध्यक्ष मिराकले संविधान सभाको हत्याप्रति असमत जनाउँदै जसरी संघीयता, पहिचान र स्वायत्तताको विरुद्धमा सिंहदरवारमा बस्नेहरूले षडयन्त्रहरू बुनिरहेका छन्, त्यसको विरुद्धमा संघीयवादी लिम्बुवान जनताहरू जुर्मुराएर उठिरहेको सन्देश दिन सो मार्चपास गरिएको बताउनु भयो ।

वहाँले संविधान सभाको हत्या गर्ने अनि अहिले संविधान सभाको चुनावको लागि चुनावी सरकार पाउन मरिहत्ते गरिरहने एमाले–कांग्रेसलाई चुनौती दिँदै त्यस्ता षडयन्त्रकारीलाई भण्डाफोर गर्नसमेत सो मार्चपासको आयोजना गरिएको बताउनु भयो ।

मार्चपासको पहिलो दिन उर्लाबारीदेखि बेलबारीसम्म करिब २० किलोमिटर मार्चपास गरेर दोस्रो दिन बेलबारीदेखि इटहरीसम्म थप १५ किलोमिटर पैदल यात्रा तय गरिएको थियो ।

दोस्रो दिन, मार्चपासको समापन सभालाई सम्बोधन गर्ने क्रममा लिम्बुवानका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले आयोजक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद,मोरङ जिल्ला कार्य समिति र सह–आयोजक संघीय धिमाल स्वायत्त परिषदलाई धन्यवाद दिँदै मार्चपासमा सहभागी हुने र देश विदेशमा रहेर साथ सहयोग गर्नुहुने तमाम् संघीयवादी जनताहरूलाई जय लिम्बुवानको नाराले संघीय लिम्बुवानी अभिवादन टक्राउनु भयो ।

आफूहरूले ३५ किलोमिटर लामो मार्च पास गरेर लिम्बुवानको रोड र चोकहरू कब्जा गर्दै आएको बताउँदै अध्यक्ष मिराकले नेपालका सबै संघीयवादीहरू मिलेर काठमाडौंको सिंहदरवार कब्जा गरेर विरालोलाई कुटेर लखेटेजस्तै लखेट्ने दिन नआओस् भनेर एकात्मकवादीहरूलाई चुनौती दिनुभयो ।

 

वहाँले लिम्बुवान आन्दोलनलाई कुनै एकात्मक मिडियाले साथ दियोस् या नदियोस् यसमा कुनै मत्लव नराखी लिम्बुवानको सङ्घर्ष एक हजार वर्षसम्म पनि कायम रहने प्रण गर्नुभयो ।

यसरी नै वहाँले ६०१ जना संविधान सभाका सदस्यहरूलाई पङ्गु बनाएर कुनै पनि कुरालाई संविधान सभामा छलफलसम्म पनि नगराकन ऐतिहासिक संविधान सभाको हत्या गरी फेरि संविधान सभाको निर्वाचन गराउने सरकार हामीलाई चाहियो भनी सत्ता र प्रधानमन्त्री पदको लुछाचुडी गरिरहने एकात्मक एमाले, कांग्रेस र माओवादीलाई पनि छेड हान्दै यो उनीहरूको नालायाकी र हुतीहारापन भएको भन्दै त्यसको घोर विरोध र भत्र्सना गर्नुभयो ।

वहाँले थप भन्नु भयो– ‘‘हाम्रो मान्छे मारेको मारेकै गर्ने, हामीलाई चुसेको चुसेकै गर्ने, आज आर्मी पुलिस र कर्मचारीतन्त्रमा, अदालत र सञ्चार माध्यम सबै ठाउँमा एक जातिको हैकम बनाउने, त्यसमा क्याप्चर गर्ने, अनि मानौ यो देशमा केही भएकै छैन जस्तो गरेर आनन्दले बस्ने !’’ भन्दै  आफूहरूले यो पटक्कै सहन नसक्ने उद्घोष गर्नुभयो । यसै सन्दर्भमा वहाँले अब लिम्बुवानले यस्ता एकात्मक विधि, कानुन र संविधानहरू समेत नमान्ने पनि घोषणा गर्नुभयो ।

अध्यक्ष मिराकले संघीय–लिम्बुवानको आन्दोलन जारी रहेको भन्दै लिम्बुवानको लडाइँ देशलाई टुक्राउने नभई हजारौं वर्षसम्म लिम्बुवान नेपालमै रहने पनि प्रष्ट पार्नुभयो । वहाँले लिम्बुवान भनेको जाति जाति बीचमा हिङ्सा र द्वन्द्व फैलाउने लडाइँ नभई अरुणपूर्वका सबै जनताहरूको साझा लिम्बुवान हुने तथा यो साझा धरती र साझा राज्य हुनेसमेत बताउनु भयो ।

मार्चपास समापन सभालाई सम्बोधन गर्नेक्रममै अध्यक्ष मिराकले लिम्बुवानलाई लिम्बुवान कायम भएको १० वर्षभित्रै एसियाकै सबैभन्दा राम्रो राज्य बनाई छोड्ने समेत बताउनु भयो । वहाँले लिम्बुवानका सबै जनताहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र अरुपूर्व लिम्बुवान स्वायत्तताको पक्षमा रहेको बताउँदै ज्यान गए पनि त्यसको लागि प्रतिवद्ध रहने समेत उद्घोष गर्नुभयो ।

अध्यक्ष मिराकले संघीय–लिम्बुवान आन्दोलनलाई तुहाउन र खतम गर्नको लागि एमाले–कांग्रेसहरू मिलेर संविधान सभाको हत्या गरेको भन्दै संविधान सभाको हत्या भए पनि त्यसले लिम्बुवान आन्दोलन तुहिएको र सुस्ताएको नभई झनझन मजबुत भएर गएको समेत प्रष्ट पार्नुभयो ।

वहाँले थप भन्नु भयो– ‘‘के हामी उर्लाबारीदेखि इटहरीसम्म पैदल हिँडेर आउँदा हाम्रो खुट्टाचाहिँ फलाम हो ? के हाम्रो खुट्टा दुखेको छैन ? जरुर दुखेको छ । तर हाम्रो शरीर दुखेको भन्दा धेरै यो देशको माटो दुखेको छ । यो देशको माटो, यो लिम्बुवानको माटो र यो देशको जनताहरूको दुखाईसँग हाम्रो दुखाईलाई आत्मसात गर्न र मिलाउनको लागि दुई दिन पसिना बगएर आएको यो एकात्मकवादीहरूलाई चुनौती हो ।’’

वहाँले सारा नेपालका संघीयवादी जनताहरूले यही लिम्बुवानलाई हेरिरहेको भन्दै मार्चपासमा सहभागी सारा लिम्बुवानी नेता तथा कार्यकर्ताहरूलाई गाउँमा गएर नसुतीकन लिम्बुवानको लागि खट्न आग्रह गर्नुभयो । यसैगरी, नेपालका सबै संघीयवादीहरूले लिम्बुवानी आन्दोलनलाई हेरिरहेका बताउँदै पुनः देश संघीय विद्रोहको तयारीमा रहेको समेत बताउनु भयो ।

आफ्नो भनाइको अन्त्यमा मार्चपासको आयोजक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति, मोरङ, सह–आयोजक संघीय धिमाल स्वायत्त परिषद, ९ वटै जिल्ला र काठमाडौ उपत्यका समिति लगायत देश–विदेशमा रहेका सबै लिम्बुवानका समितिहरूलाई साथ सहयोगको लागि हार्दिक धन्यवाद दिनुभयो ।

इटहरीमा आयोजित मार्चपासको समापन सभालाई सम्बोधन गर्दै मञ्चसम्बद्ध लिम्बुवानका उप–महासचिव तथा संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङगाई धिमालले उर्लाबारीदेखि इटहरीसम्म सञ्चालन भएको ऐतिहासिक लिम्बुवान मार्चपासले लिम्बुवानी जनताहरूमा थप एकता र जागरुकताको लहर ल्याएको बताउनु भयो । वहाँले यो एकात्मक र केन्द्रीकृत शासकहरूको लागि चुनौती भएको पनि बताउनु भयो ।

त्यसैगरी, आयोजक मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मोरङ जिल्ला कार्य समितिका अध्यक्ष भगिराज तुम्साले मार्चपासमा सहभागी भई दुईदिन सम्म पैदल हिँडेर कार्यक्रमलाई सफल पार्न साथ दिने सबै देश–विदेशका समिति र नेता तथा कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद दिनुभयो । मार्चपासको समापन सभामा इटहरी नगरका अध्यक्ष दुर्गालाल चौधरी थारुले सम्पूर्ण सहभागीहरूलाई थारु भाषामा बोलेर स्वागत गर्नुभएको थियो भने लिम्बुवान मोरङका सचिव योगेन्द्र चोङबाङले कार्यक्रमको उद्घोषण गरेका थिए । मार्चपासको समापन सभामा लिम्बुवानका उपाध्यक्षहरू ज्ञानबहादुर गुरुङ, ज्ञानुहाङ इम्बुङ, महासचिव फक्ताङलुङ योङहाङ लगायतका उप–महासविचहरू, सचिवालय सदस्यहरू र केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

मार्चपासको क्रममा बाटोमा पर्ने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद क्षेत्र तथा गाउँ समिति र किरात याक्थुङ चुम्लुङ गाउँ कार्य समितिहरूले समेत स्वागत गर्दै खाजापानी समेत खुवाएका थिए ।

मार्चपासमा ‘‘संघीय–लिम्बुवान आन्दोलन जारी छ ! हाम्रो आन्दोलन जारी छ ! मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिन्दावाद ! संघीय धिमाल स्वायत्त परिषद जिन्दावाद ! संविधान सभाका हत्याराहरू मुर्दावाद ! अरुण–सप्तकोशीपूर्व लिम्बुवान राज्य सुनिश्चित गर ! सम्पूर्ण लिम्बुवानवासीहरू एक हौं ! सम्पूर्ण संघीयवादीहरू एक होऔं ! झापा, मोरङ, सुनसरी; लिम्बुवानको फूलबारी !लिम्बुवान हाम्रो प्राण हो ! लिम्बुवान हाम्रो घर हो ! नेपाल हाम्रो देश हो !! आई. एल. ओ. महासन्धि नं. १६९ कार्यान्वयन गर’’ लगायतका नाराहरू लगाइएको थियो ।

–  डीबी आङबुङ लिम्बू, लिम्बुवान

————————————-

 

Limbuwan March Pass 5th Urlabari to Itahari Video Links:

यसमा तपाइको मत





*