किरात याक्थुङ् चुम्लुङ् अमेरिकाद्धारा न्यू योर्कमा चासोक तङ्नाम्

किरात याक्थुङ् चुम्लुङ्, अमेरिकाले लिम्बुहरुको परम्परागत पर्व चासोक तङ्नाम न्यू योर्कमा भव्य रुपमा मनायो । लिम्बु समुदायमा हरेक अन्नबाली उठाउने बेलामा यस पर्वलाई भव्य रुपमा मनाउने प्रचलन रहेको छ । यसलाई प्रचलनको भाषामा न्वगी पुजा पनि भन्ने गरिन्छ । प्रकृतिका पुजारी लिम्बु समुदायले आफुले उमारेको अन्नबाली कुल देवतालाई चढाएपछि मात्र अन्य प्रयोजनको लागि प्रयोगमा ल्याउने गर्दछन् । यदि त्यसो नगरिएमा कुलदेवता रिसाएर शारिरिक रुपमा अंगभंग हुने स्थानिय भनाई रहेको पाईन्छ ।
कार्यक्रममा न्यू योर्कबासी लिम्बु समुदायको अलवा अन्य गैर लिम्बुहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा समुदायको फेदेङ्मा (पुजारी ) राम चोङ्बाङ लिम्बुले मुन्धुमबाट पुजा गरेका थिए । पुजासँगै समुदायका अगुवाहरुले च्याब्रुंग  बजाउँदै च्याब्रुंग  नाँच नाचेका थिए । यसैगरी कार्यक्रममा सहभागीहरुले च्याब्रुंग नाँचसँगै धान नाँच समेत नाँचे । एक अर्काको हात समातेर नाँचिने धान नाँच यस समुदायले प्रायः हरेक शुभकार्यहरुमा नाँच्ने गर्दछन् ।
प्रवासमा रहेर पनि आफ्नो  मौलिक संस्कृतिको स्मरण गर्दै हरेक जातजातिले बिभिन्न समयमा मनाउँदै आएको चाड पर्वले स्वदेशको याँद दिलाउने गरेको कार्यक्रममा सहभागी मध्येका एक भरत लामाले बताए । यसैगरी कार्यक्रममा आफ्नो भाषा, कला र संस्कृति  जहाँ पुगे पनि प्यारो लाग्ने बताउँदै अर्का सहभागी मुनिन्द्र नेम्बाङ् भन्छन्–“ हाम्रो आफ्नो पहिचान भनेकै यहि हाम्रो भाषा र संस्कृति हो जुन हामी संसारको जुनसुकै कुनामा पुगे पनि भुल्न सक्दैनौ “। सोहि कार्यक्रममा संस्थाका महासचिव दिपेश लिम्बुले कार्यक्रमको बारेमा प्रकास पारे भने संस्थाका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले धन्यवाद ज्ञापन गरेका थिए ।
संस्थाले बिभिन्न अवसरमा आप्नो गाउँघरको परम्परागत एवं मौलिक  संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै यस प्रकारको चाड पर्वलाई बिशेष रुपमा मनाउँदै आएको छ । संस्थाले यसअघि न्यू योर्कमै गत नोभेम्बर १२ तारिखको दिन बलिहाङ् तङ्नाम भब्य रुपमा मनाएको थियो ।
संस्थाको कार्यालय उदघाटन् । 
सन् २००४ नोभेम्बर स्थापना भएको यस किरात याक्थुङ् चुम्लुङ्, अमेरिकाले हाल  न्यू योर्कको कुईन्सस्थित ज्याकसन हाईट्समा आफ्नो कार्यालयको स्थापना गरेको छ । चासोक तङ्नामकै अवसरमा आजै संस्थाको कार्यालय विधिवत् रुपमा उद्घाटन गरिएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले रिवन काटेर संस्थाको कार्यालय उद्घाटन गरेका थिए ।
कार्यालय नेपालीहरुको ठूलो आवाधी रहेको न्यू योर्कको कुईन्स स्थित ज्याक्सन् हाईट्समा ४०–०८ ७६ स्ट्रिटमा रहेको छ ।
News Source :www.presschautari.com

यसमा तपाइको मत





*